२५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका एक जना मन्त्रीले चियाका लागि खाली कागजमा ‘तोक’ लगाएको कुरा सुन्दा तपाई पत्यार नलाग्न सक्छ । तर प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले पाँच कप चियाका लागि आफ्नो हस्ताक्षरसहित ‘तोक’ लगाएको चिट सार्वजनिक भएको छ ।
सत्तारुढ दलकै सांसदहरुले अगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमा रहेको असन्तुष्टि सम्बोधन गर्न अर्थमन्त्री प्रकाश रावल र राज्यमन्त्री साउदले वास्ता नगरेको आरोप लगाइरहेका बेला उनले चियाका लागि भन्दै ‘तोक’ लगाएको भेटिएको हो ।
कार्की चिया नास्ता पसललाई काटिएको उक्त चिटमा राज्य मन्त्री साउदले २५ पिस चाउचाउ, ४८ पिस बिस्कुट र पाँच कप चिया उल्लेख गरिएको छ । १२ असारमा मिति राखिएको उक्त चिटमा अर्थराज्यमन्त्री साउदको नाम अंकित छाप मात्र छैन त्यसमा उनले हस्ताक्षर समेत गरेका छन् ।
मन्त्री जस्तो मान्छेले पाँच कप चियाका लागि आफ्नो छाप प्रयोग गरेर चिट काटिएको भन्दै आलोचना भइरहेको छ । यो विषयमा प्रतिक्रिया लिन उनलाई सम्पर्क गरेपनि फोन उठेन । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सिद्धराज जोशीले आफू बाहिर गइरहेको भन्दै उक्त विषयमा धेरै कुरा थाहा नभएको बताउँछन् ।
मन्त्रीले पाँच कप चियाका लागि खाली कागजमा ‘तोक’ लगाएको विषयमा मन्त्रालयभित्रै हलचल मच्चाएको स्रोतको दाबी छ । ‘मन्त्रालयमा अतिथि सत्कार वा अन्य समयमा चिया तथा खाजा कर्मचारीहरुले व्यवस्थापन गर्ने गरेका छन । यति सानो कुरामा मन्त्रीले हस्ताक्षर गर्नु थिएन,’ एक कर्मचारीले भने, ‘तर उहाँले प्राविधिक कुरा थाहा नपाएर पनि हस्ताक्षर गर्नुभएको हुनसक्छ । यसलाई धेरै ठूलो बनाउनु हुँदैन् ।’
आफैले ल्याएको बजेटमाथि प्रदेशसभामा छलफल गर्ने वातावरण बनाउन नसकेका मन्त्री चियाको कपमा ‘तोक’ लगाउन व्यस्त भएको भन्दै आलोचना भएको छ ।