१ कार्तिक, धनगढी । कैलालीमा तीन महिनामा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । जिल्लामा वर्षायामको समयमा अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय धनगढी कैलालीका अनुसार सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामाका व्यक्तिहरुमा डेङ्गु सङ्क्रमण भएको जनाईएको छ ।
धनगढीमा अहिलेसम्म १४१ जना डेङ्गुका बिरामीको पुगेका छन् भने जिल्लाको लम्कीचुहा नगरपालिकामा ११३ जना यस्तै बर्दगोरिया गाउँपालिकामा ७२ र टीकापुर नगरपालिकामा ४० जनालाई डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।
गोदावरी नगरपालिकामा २८, गौरीगङ्गामा सात, भजनी नगरपालिकामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको र यस्तै जोशीपुर गाउँपालिकामा छ, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा चार÷चार, मोहन्याल गाउँपालिकामा तीन जनामा डेङ्गु सङ्क्रमणका बिरामी देखिएको बताईएको छ । असोज मसान्त सम्ममा कैललाीमा ४२३ जनामा संक्रमण देखिएको हो ।
जिल्लाको कैलारी र चुरे गाउँपालिकामा भने डेङ्गुका बिरामी हालसम्म फेला परेका छैनन् । दशैंँसम्म डेङ्गु सङ्क्रमितको सङ्ख्या ४०४पुगेको थियो भने दशैँपछि जम्मा १९ जना नयाँ बिरामी थपिएका छन । अहिले चिसोको समय बढ्दै गएकाले डेङ्गुको नयाँ बिरामी फेला पर्ने क्रम घट्दै गएको छ ।