
काठमाडौं । कृषि विकास बैंकले आफ्ना पूर्व कर्मचारीहरूका लागि सामूहिक स्वास्थ्य बीमा योजना सञ्चालन गर्ने भएको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै एक वर्षको अवधिका लागि प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको बीमाङ्क रकम रहने गरी स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो।

यस योजनामा सहभागी हुन चाहने योग्य पूर्व कर्मचारीहरूलाई आगामी कार्तिक १५ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । बीमा सुविधा प्राप्त गर्नका लागि केही निश्चित शर्तहरू तोकिएका छन्। बैंकमा कम्तीमा १५ वर्ष स्थायी, अस्थायी वा मासिक पारिश्रमिक वा करारमा सेवा गरेका ७० वर्ष उमेर भित्रका पूर्व कर्मचारीहरू मात्र यस योजनाका लागि योग्य हुनेछन्।
इच्छुक पूर्व कर्मचारीहरूले आफू बसोबास गरेको स्थान वा पायक पर्ने बैंकको नजिकैको कार्यालयमा गएर आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकको सूचना अनुसार, कृषि विकास बैंक कर्मचारी सेवा विनियमावलीको परिच्छेद ७ बमोजिम सजाय पाई बर्खास्त भएका वा अदालतबाट दोषी ठहर भई सजाय पाएका पूर्व कर्मचारीहरूले भने यो सामूहिक स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न सक्ने छैनन् ।
आवेदनका साथमा बैंकले जारी गरेको पूर्व कर्मचारी परिचय पत्र वा पूर्व कर्मचारी भएको प्रमाण खुल्ने पत्र र नागरिकताको फोटोकपी अनिवार्य रूपमा पेश गर्नुपर्ने छ।

