३ कात्तिक , धनगढी । बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ ।
मेलौली नगरपालीकामा अस्पताल बनाउनका लागी जग्गा उपलब्ध भईसके पछि पनि अस्पताल निर्माण कार्य सुरु नएको भन्दै बिहीबार वडा नम्बर –१ का स्थानीयले नगरपालिकामा तालाबन्दी गरेका हुन ।
वडा नम्बर १ को बिठ्ठनेमा अस्पताल बनाउनका लागि जग्गा उपलब्ध भइसक्दा पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउने चलखेल गर्न खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको स्थानीय दशरथ नायकले बताए ।
आक्रोसित स्थानीयहरुले नगरपालिका, स्वास्थ्य शाखा, शिक्षा शाखा लगायतका अन्य शाखाहरुमा तालाबन्दी गरेको उनले बताए । वडा नम्बर १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भएपनि कुन ठाउँमा बनाउने भन्ने निर्णय भइनसकेको पालिकाले जनाएको छ ।
वडा नम्बर ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमा अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन । संघीय सरकारले २०७० सालमा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरेपनि अहिलेसम्म विवादकै कारण बन्न सकेको छैन ।