

बैतडीको शिवनाथ गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको मृत्यु भएको छ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरको छतबाट लडेर मृत्यु भएको हो। पाटन–पञ्चेश्वर सडकखण्डमा कार्यरत थारु सोही घरमा भाडामा बस्दै आएका थिए। उनीसँगै उनका भतिज गुरीलाल थारु पनि बस्ने गरेको बुझिएको छ।
आज बिहान करिब ३–४ बजेतिर शौचालय जाने क्रममा छतबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्स्पेक्टर बलदेव बडुले जानकारी दिनुभयो।

