

सिन्धुलीको दुधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बोलेरो दुर्घटनामा पर्दा पाँचजना घाइते भएका छन् ।
प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बुलेरो घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटना दुधौली नगरपालिका-१ राँगेस्थित सडक खण्डमा भएको प्रहरीले जनाएको छ ।
फिक्कल गाउँपालिका-१ महादेवडाँडा जलजलेबाट उदयपुरको घाइघाट-रातमाटेतर्फ बेहुला लिएर जाँदै गरेको गाडी अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए । दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ ।
दुर्घटनामा घाइते भएका योगबहादुर खत्रीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक उपचारपछि उनीलाई थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ ।
अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चारजनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका घाइतेलाई स्थानीयबासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरेको जनाएको छ । प्रारम्भिक अनुमानमा तीव्र गति मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ ।

