
१६ कात्तिक, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला जाने भएपछि बसपार्क क्षेत्रका खाल्डाखुल्डी टालटुल गर्न थालिएको छ । जिल्लाको अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्नेकाम भइरहेको छ ।

बिहीबार बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गृहजिल्ला डडेल्धुराका ७ चुनावी आमसभालाई देउवाले सम्बोधन गर्ने भएका छन । उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन ।
प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा बसपार्क नबनाउनु तर डडेल्धुरा आउँदा बसपार्कमा टालाटुली हालेर जनतामा भ्रम फैलाउने काम भएको स्थानीयहरुले बताएका छन ।
तर, अमरगढी नगरपालिकाले भने प्रधानमन्त्री आउने भएर मात्रै मर्मत सम्भार नगरेको जनाएको छ । बसपार्क र सवारी चालकलाई मध्यनजर गर्दै काम भइरहेको नगरपालिकाले जनाएको हो ।

