

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरेर भारतबाट ल्याइएका लाखौँ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका–२ डोके बजार, भजनी नगरपालिका–३ काँडा तथा वडा नम्बर ५ हलौना घाट क्षेत्रबाट अन्दाजी १ लाख ६ हजार ५२० रुपैयाँ बराबरका चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा, साबुन लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको हो।
यस्तै, भीमदत्त नगरपालिका–४ र ६ नम्बर वडाबाट अन्दाजी ४ लाख ४९ हजार ९ सय रुपैयाँ बराबरका जुत्ता, पेचकिला, मन्दिर गुम्बा, एक थान मोटरसाइकल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाएको छ।

