सेतीसहित सुदूरपश्चिमका तीन प्रादेशिक अस्पताल १०० शैयामा स्तरोन्नती गछौँ : मुख्यमन्त्री शाह

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एक भव्य समारोहका बीच लम्कीचुहा प्रादेशिक अस्पतालको समुद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा स्थानीयवासीहरूले बाजागाजा सहित मुख्यमन्त्रीको भव्य स्वागत गरेका थिए भने कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो।

प्रादेशिक अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको स्वास्थ्यसँग कसैले पनि खेलवाड गर्न नहुने स्पष्ट पारेका छन् ।
उनले कैलालीको टिकापुर र सेती तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई थप स्तरोन्नति गरि १०० शैयाको अस्पताल बनाउने जानकारी दिए ।

साथै प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवाको विस्तार गरिने उल्लेख गर्दै लम्कीचुहा प्रादेशिक अस्पतालमा यसै वर्षदेखि डायलासिस सेवा सुरु गर्ने घोषणा गरे ।

मुख्यमन्त्री शाहले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा आएसँगै ट्रमा सेन्टर स्थापना गर्ने बाटो खुलेको बताए । उनले ५० शैयाभन्दा कमका अस्पतालमा ट्रमा सेन्टर सञ्चालन गर्न कठिन हुने भएकाले प्रादेशिक अस्पतालको संरचना आवश्यक भएको स्पष्ट पारे ।

प्रदेश सरकारले प्रदेश गठन आदेशअनुसार प्रादेशिक अस्पताल व्यवस्थापन समिति गठन गरेको जानकारी दिँदै मुख्यमन्त्री शाहले सो निर्णयविरुद्ध लम्कीचुहा नगरपालिका सर्वोच्च अदालत पुगेको र सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रसङ्ग पनि उल्लेख गरे ।

मुख्यमन्त्री शाहले अदालतको निर्णयपछि पनि स्थानीय तहबाट सहकार्यको वातावरण नबनाइएको प्रति उनले असन्तुष्टि व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०र०८१ देखि प्रदेश मातहत रहेका अस्पतालहरूको स्तरोन्नति र क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्दै बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको थियो। उक्त नीतिअनुसार सरकारले आवश्यक बजेटस विनियोजन गरिएको थियो।

आर्थिक वर्ष २०८२र०८३ मा सोहि नीतिलाई निरन्तरता दिँदै अस्पतालहरूको स्तरोन्नति प्रक्रिया अघि बढाइएको थियो । पहिलो चरणमा डडेल्धुराको जोगबुढा र कैलालीको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो।

लम्कीचुहा नगरपालिकाले १५ शैयाको अस्पताललाई ५० शैयामा विस्तार गर्न औपचारिक सिफारिस गरेपछि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको थियो । मिति २०८२ जेठ २६ गते नेपाल सरकार मन्त्रिपरिषले प्रदेश सरकार मार्फत सञ्चालन गर्न स्वीकृति प्रदान गरेको थियो ।
प्रदेश सरकारले पटक–पटक लम्कीचुहा नगरपालिकालाई सम्झौताका लागि पत्राचार गर्दा पनि पालिकाको व्यवस्था र अवरोधका कारण प्रादेशिक अस्पताल सञ्चालन र सेवा विस्तारमा ढिलाइ भइरहेको थियो।उता, डडेल्धुराको जोगबुढा अस्पताल भने स्थानीय तहसँग समयमै सम्झौता भई सञ्चालनमा आइसकेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा साढे चार करोड रकम विनियोजन गरेको छ। भने लम्कीचुहा प्रादेशिक अस्पतालका लागि १४६ जनाको दरबन्दी स्वीकृत गरेको छ। अस्पताल सञ्चालनमा आएसँगै अब आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्। यसले उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

लम्कीचुहा प्रादेशिक अस्पताल स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्नुभएको भन्दै स्थानीयले मुख्यमन्त्री कमल बहादुर शाहप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

यसैबीच मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुवा नगरपालिका वडा नम्बर १० चुहामा रहेको लम्केचुहा प्रादेशिक अस्पताल भवनको अनावरण पनि गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...