


धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट २० ग्रामभन्दा बढी हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
धर्मानन्द भट्टले आफू बस्दै आएको कोठाबाट लागूऔषध (हेरोइन) बिक्री–वितरण गरिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान साढे ११ बजे कोठामा छापा मारेको थियो।
प्रहरीका अनुसार कोठामा जाँच गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ४३ वर्षीय धर्मानन्द भट्ट, उनकी १७ वर्षीया छोरी अस्मिता भट्ट तथा गोदावरी नगरपालिका–२ का ४४ वर्षीय गोपाल तिमिल्सेनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारिएको थियो।
तलासीका क्रममा उनीहरूले लुकाइछिपाइ राखेको अवस्थामा शुद्ध तौल गर्दा २० ग्राम २४० मिलिग्राम हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
डीएसपी हिरा सिंह महरा इलाका प्रहरी कार्यालय मालाखेतीकाे प्रमुख भएर आएपछि लागूऔषध दुर्व्यशनमा गरेकाे पहिलाे ठूलाे अप्रेसन हाे ।

