सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपति बनेका नेपाल को हुन् ?

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कञ्चनपुरका साहित्यकार रामचन्द्र नेपाल नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका संरक्षक कमलबहादुर शाहले गत साता नेपाललाई कुलपतिमा नियुक्त गरेका हुन्।

साहित्य, शिक्षा, अनुसन्धान, सामाजिक चेतना र सांस्कृतिक अभियानलाई एकसाथ अघि बढाउँदै आएका नेपाल सुदूरपश्चिमको बौद्धिक तथा साहित्यिक क्षेत्रमा सम्मानित, प्रेरणादायी र विशिष्ट व्यक्तित्वका रूपमा परिचित छन्। तिनै योगदानको मूल्याङ्कन गर्दै प्रदेश सरकारले उनलाई प्रतिष्ठानको नेतृत्व सुम्पिएको हो।

प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा बौद्धिक सम्पदाको संरक्षण, संवद्र्धन र विकासका लागि स्थापना गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा नेपालको आगमनलाई साहित्यिक क्षेत्रले सकारात्मक रूपमा लिएको छ।

को हुन् रामचन्द्र नेपाल ?

वि.सं. २०१३ साल असोज ३ गते हेमसागर नेपाल र टुकामाया नेपालको सुपुत्रका रूपमा जन्मिएका रामचन्द्र नेपालको स्थायी बसोबास कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा रहेको छ। स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले जीवनको महत्वपूर्ण समय शिक्षण पेसामा समर्पित गरेका छन्। उनको शिक्षण अनुभव २१ वर्ष ६ महिनाभन्दा बढी रहेको छ।

शिक्षक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नेपाल नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष (२०५५–२०५८) समेत रहिसकेका छन्। शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै उनले शिक्षक अधिकार, शैक्षिक सुधार र संगठन निर्माणमा उल्लेखनीय योगदान पु¥याएका छन्।
साहित्यिक क्षेत्रमा नेपाल कथाकार, लघुकथाकार, सम्पादक तथा अनुसन्धानकर्ताका रूपमा परिचित छन्।

प्रगतिशील लेखक सङ्घका पूर्व केन्द्रीय सदस्य रहेका उनका प्रकाशित कृतिहरूमध्ये आवाज (कथासंग्रह), प्रतिबिम्ब (लघुकथा संग्रह), अनुक्रम (लघुकथा संग्रह) तथा बस्तीमा कुहिरो (कथासंग्रह) उल्लेखनीय मानिन्छन्। नेपाली कथानक चलचित्र मेरो कथा का कथाकारसमेत उनी नै हुन्।
अनुसन्धान क्षेत्रमा पनि उनको सक्रियता उल्लेखनीय छ।

उनले नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौंका लागि ‘सुदूरपश्चिममा बालसाहित्य’ विषयमा अध्ययन तथा अनुसन्धान गरेका छन्। बालसाहित्य, कथा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर उनले निरन्तर सिर्जना गर्दै आएका छन्।

सम्पादन क्षेत्रमा उनले सगुन विद्यालय मुखपत्र, नवज्योति साहित्यिक द्वैमासिक तथा भास्कर सन्तति वंशावली ग्रन्थको सम्पादन गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न साहित्यिक तथा शैक्षिक गोष्ठीहरूमा उनले कार्यपत्र प्रस्तुत गर्दै आएका छन्।

संस्थागत योगदान

नेपाल सामाजिक तथा शैक्षिक संस्थाहरूको स्थापना र विकासमा पनि सक्रिय छन्। जनता बहुमुखी क्याम्पस, पुनर्वासका संस्थापक सदस्य तथा एक कार्यकाल अध्यक्ष रहेका उनी महाकाली साहित्य संगमका संस्थापक सदस्य हुन्। हाल उनी ज्योति सामुदायिक पुस्तकालय, पुनर्वास–६ का संस्थापक सदस्य तथा अध्यक्षका रूपमा कार्यरत छन्।

अन्तर्राष्ट्रिय स्तरमा पनि उनको सहभागिता उल्लेखनीय छ। सार्कस्तरीय शिक्षक नेताहरूको अन्तर्राष्ट्रिय तालिम तथा संगोष्ठीमा सहभागिता जनाइसकेका नेपाल विश्व नेपाली साहित्य सम्मेलन, धनगढीका सल्लाहकारसमेत हुन्। उक्त संस्थाबाट उनी सम्मानित भइसकेका छन्।

साहित्य र बालसाहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप उनले भारतको उत्तराखण्डस्थित बालकल्याण संस्थान, खटीमाबाट ‘बालसाहित्य नेपाल गौरव’ सम्मान प्राप्त गरेका छन्। यसबाहेक विभिन्न साहित्यिक, शैक्षिक तथा सामाजिक संस्थाहरूबाट पनि उनी सम्मानित भएका छन्।

हाल उनको बालचित्रकथा ‘हाम्रो बाचा’ प्रकाशोन्मुख अवस्थामा रहेको छ। साथै कविता संग्रह, नियात्रा तथा बालकथा संग्रहका पाण्डुलिपिहरू प्रकाशनको तयारीमा छन्।

कुलपतिका रूपमा प्राथमिकता

साहित्यको उत्थानका लागि लामो समयदेखि सक्रिय नेपाल राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदानलाई जीवन्त राख्न पुनर्वासमा स्थापित ‘माधव–गौरी प्रतिष्ठान’ मा समेत नेतृत्वदायी भूमिकामा रहेका छन्। विभिन्न साहित्यिक कार्यक्रम, कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रममा उनको निरन्तर सहभागिता रहँदै आएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका नेपाल प्रदेश सरकारको निर्णयअनुसार कुलपतिमा नियुक्त भएका हुन्।

कुलपतिका रूपमा आफ्नो प्राथमिकता सार्वजनिक गर्दै उनले सुदूरपश्चिमका ओझेलमा परेका भाषा, लोकसाहित्य, लोकसंस्कृति तथा स्रष्टाहरूको खोज, अध्ययन र अभिलेखीकरणलाई विशेष महत्व दिने बताएका छन्।

“युवा लेखक, अनुसन्धानकर्ता र साहित्यकारलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,” नेपालले भने, “विद्यालय तथा समुदायस्तरमा पठन संस्कृति र पुस्तकालय आन्दोलनलाई थप सशक्त बनाइनेछ।”

उनले साहित्य, शिक्षा र समाजबीचको सम्बन्धलाई मजबुत बनाउने गोष्ठी, अनुसन्धान तथा प्रकाशन कार्यक्रमलाई समेत प्राथमिकतामा राख्ने बताएका छन्।

साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा लामो अनुभव बटुलेका रामचन्द्र नेपालको नियुक्तिले सुदूरपश्चिमको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय स्रष्टा, लोकसंस्कृति र युवा पुस्तालाई जोड्ने अभियानले गति पाउने विश्वास साहित्यिक वृत्तमा व्यक्त गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...