


धनगढी । नेकपा एमालेले पनि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री परिवर्तन गर्ने भएको छ । कांग्रेसले मुख्यमन्त्री बाहेक सबै मन्त्री फेर्ने भएपछि एमालेले पनि नयाँ सांसदलाई सरकार पठाउने भएको हाे ।
स्रोतकाअनुसार एमालेले उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकारी ऐर बमलाई सरकारमा पठाउने निर्णय लिएकाे छ । अहिले एमालेबाट सरकारकाे भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हीरा सार्की रहेका छन् । अब उनीहरूलाई फिर्ता हुनेछन् ।
एमालेले नयाँ मन्त्री बनाउने सांसदकाे नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई पठाइसकेको छ । शाहले भाेलिसम्म सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् । कांग्रेसकाे आन्तरिक विवादकाे जगमा प्रदेश सरकार पुर्नगठन हुन लागेकाे हाे । संसदीय दलकाे नेताबाट शाहलाई हटाउन कांग्रेसका ९ सांसदले हस्ताक्षर गरेका थिए ।
डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि शाहकाे पद जाेगिएकाे थियाे । अहिले कांग्रेसकाे असन्तुष्ट पक्षलाई सरकारमा पठाउने समझदारीअनुसार मुख्यमन्त्री शाहले मन्त्री हेरफेर गर्ने भएका हुन् । एमाले र कांग्रेसकाे निर्णयपछि मुख्यमन्त्री बाहेक सुदूरपश्चिम सरकारमा सबै मन्त्री नयाँ हुनेछन् ।

