


धनगढी । धनगढीमा युवतीमाथि सामूहिक बलात्कार गरेकाे अभियाेगमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ ।
धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबामा १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्ने दुई नाबालक छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले २१ वर्षीय प्रदिप चन्द, १६ र १७ वर्षीय किशाेरलाई पक्राउ गरिएको बताए ।
उनकाअनुसार गत जेठ २१ गते राति स्थानीय खेतबारी क्षेत्रमा युवतीमाथि जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए ।
जाहेरीका आधारमा अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेकाे थियोे ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको सेती प्रादेशिक अस्पताल धनगढीमा विस्तृत स्वास्थ्य परीक्षण गरिएपछि आफन्तको जिम्मा लगाइएको छ। पक्राउ परेका मध्ये एक जना भने युवतीका प्रेमी रहेकाे खुलेकाे प्रहरीकाे भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

