
धनगढी । बैतडीमा भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारका लागि धनगढी आएका छन् । शुक्रबार दिउँसो ७ जना घाइतेलाई धनगढी ल्याइएकोमा राति थप १५ जना उपचारका लागि धनगढी आएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार उनीहरु राति धनगढीतिर आएका छन् । घाइते मध्ये एक जना भने डडेल्धुरामा उपचारपछि डिस्चार्ज भएका छन् ।
धनगढीबाट छुटेको सुदूरपश्चिम यातायातको सुपप्र०१–००१ ख ३९६३ नम्बरको बस दशरथचन्द राजमार्गमा गुडिरहेका बेला पाटन नगरपालिका–८ को गैराखानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक पाटन नगरपालिका–३ बस्ने २५ वर्षीय दिनेश भाटसहितका २३ जना घाइते भएका थिए । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । बस जेसिबी बोक्ने ट्रेलरलाई साइड दिने क्रममा सडकबाट खसेको पाइएको प्रहरीले जनाएको छ ।

