
काठमाण्डौँ । लोकप्रिय नेपाली गायक यम बराल करिब डेढ महिनादेखि काठमाडौंको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचाररत छन्।

विस्तृत स्वास्थ्य परीक्षणपछि चिकित्सकहरूले रक्तसम्बन्धी क्यान्सरको एक प्रकार मल्टिपल माइलोमा (Multiple myeloma) भएको आशंका गरेका छन्। हाल रोगको स्टेज निर्धारण र थप उपचार योजना बनाउने प्रक्रिया जारी छ। आवश्यक परे थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भइरहेको परिवारले जनाएको छ।
उनका भतिजा तथा सञ्चारकर्मी सञ्जय बरालका अनुसार सामाजिक सञ्जालमा फैलिएको (Leukemia) सम्बन्धी सूचना पुष्टि भएको छैन। यम बराललाई लामो समयदेखि ढाडको समस्या थियो र उपचारकै क्रममा हिँडडुल गर्न कठिन भएपछि विस्तृत परीक्षण गरिएको थियो।
परिवारले उनको इच्छाअनुसार स्वास्थ्य अवस्था सार्वजनिक नगरे पनि सामाजिक सञ्जालमा जानकारी बाहिरिएपछि विषय सार्वजनिक भएको हो। कलाकार, संगीतकर्मी र शुभेच्छुकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।

