सोमबारदेखि नयाँ कम्पनीले राहदानी छाप्ने, डाटा सार्न यो साता सेवा प्रभावित हुने

cp new add
Nisharg hospital

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको बताएका छन्।

Nast Ad

मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी सोमबारदेखि नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने जानकारी दिएका हुन् ।

अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नयाँ कम्पनीलाई ठेक्का दिइएको भए पनि कानुनी र प्राविधिक अड्चनका कारण कार्यान्वयनमा ढिलाइ भएको मन्त्री खनालले स्पष्ट पारे। राहदानी अभाव हुन नदिन साविककै कम्पनीलाई ‘भेरिएसन अर्डर’ मार्फत थप सात लाख प्रति राहदानी छाप्न दिइएको थियो।

नयाँ सरकार गठन हुँदा साढे दुई लाख प्रति राहदानी बाँकी रहेको र ती राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई करिब २५ लाख डलर नोक्सानी हुने देखिएकाले मौज्दात कम भएपछि मात्र नयाँ प्रक्रिया सुरु गरिएको उनले प्रस्टीकरण दिए। उनका अनुसार पुरानो राहदानीको मूल्य प्रतिप्रति १०.१३ डलर रहेको थियो।

राहदानी विभागले आगामी सातादेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। यस प्रक्रियाअन्तर्गत करिब एक करोड नेपाली नागरिकको वैयक्तिक विवरण (डिजिटल डेटा) नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले यो साता केही दिन सेवा अवरुद्ध हुने मन्त्री खनालले बताए।

तयारीका लागि विभागले मंगलबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित कूटनीतिक नियोगहरूबाट राहदानी आवेदन लिने कार्य स्थगित गरेको छ। यस्तै, त्रिपुरेश्वरस्थित राहदानी विभागमा पनि दुई दिन सेवा प्रभावित हुनेछ। आगामी सोमबारदेखि भने नयाँ कम्पनीले छापेका राहदानी वितरण गर्ने सरकारको योजना छ।

राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी मुद्दा अदालतमा पुगेको सन्दर्भमा भने मन्त्री खनालले अदालतमा विचाराधीन विषय भएकाले टिप्पणी गर्न नमिल्ने बताए। यद्यपि, सरकार र सम्बन्धित कम्पनीबीचको ‘करार सम्झौता’ बमोजिम काम अगाडि बढिरहेको उनको भनाइ छ।

नयाँ प्रणाली लागू भएपछिको सुरुवाती तीन महिनालाई ‘स्टेबलाइजेसन पिरियड’ मानिएको छ। यस अवधिमा केही प्राविधिक समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको र सेवामा ठूलो अवरोध आउन नदिने मन्त्रीले प्रतिबद्धता व्यक्त गरे।

मन्त्री खनालले राहदानी अत्यन्तै जरुरी रहेका नागरिकलाई तत्काल आवेदन दिन वा अर्को हप्तासम्म धैर्य गर्न अनुरोध समेत गरेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...