
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मनोनीत महामन्त्री पदका लागि प्रधानमन्त्री बालेन शाहनिकट समूहबाट सुदीप ढकालको नाम अघि सार्ने तयारी भएको स्रोतले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनबाट १,४३९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका ढकाल हाल प्रधानमन्त्री शाहको सचिवालयमा प्रशासन प्रमुखका रूपमा कार्यरत छन्। बालेननिकट एक नेताका अनुसार महामन्त्री पदका लागि आफ्नो समूहले ढकालको नाम अघि सारेको हो। महाधिवेशनका बेला पनि ढकाललाई केन्द्रीय सदस्यमा निर्वाचित गराउन बालेन पक्षका नेताहरू सक्रिय थिए।
स्रोतका अनुसार बालेन पक्ष वर्तमान महामन्त्री भूपदेव शाहलाई सोही पदमा निरन्तरता दिने पक्षमा छैन। महामन्त्रीको भूमिकामा रहँदा भूपदेवको कार्यसम्पादन अपेक्षाअनुसार नभएको निष्कर्ष निकाल्दै नयाँ नेतृत्व अघि सार्न लागिएको बताइएको छ।
बालेननिकट एक नेताले भने, “महाधिवेशनमा हाम्रो समूहका उम्मेदवारलाई जिताउन भूपदेवको भूमिका प्रभावकारी देखिएन। प्रतिनिधि समायोजनका क्रममा पनि आवश्यक परामर्श भएन। कविन्द्रजी संसदतर्फ व्यस्त रहँदा संगठनको जिम्मेवारी उहाँकै काँधमा थियो, तर संगठन निर्माणमा अझ बढी सक्रियता आवश्यक देखियो।”
रास्वपाको केन्द्रीय समितिको बैठकले गत वैशाख ७ गते भूपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको थियो।
रास्वपा विधानअनुसार सभापतिलाई ११ जना पदाधिकारी तथा ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ। तर, पार्टीभित्र आन्तरिक सहमति जुट्न नसक्दा हालसम्म सबै मनोनीत पदहरू पूर्ति हुन सकेका छैनन्।
पार्टी स्रोतका अनुसार मनोनीत हुने ५१ केन्द्रीय सदस्यमध्ये बालेन पक्षले १८ जनाको भाग पाउने गरी आन्तरिक छलफल भइरहेको छ। यस क्रममा सांसद नभएका नेताहरूलाई प्राथमिकतामा राख्ने तयारी गरिएको बताइएको छ।
यता, पार्टी स्रोतले गृहमन्त्री सुधन गुरुङले पनि मनोनीत पदमा आफ्नो पक्षको प्रतिनिधित्व खोजेको दाबी गरेको छ। स्रोतका अनुसार उनले ‘जेनजी’ उमेर समूहबाट सात जना केन्द्रीय सदस्य मनोनयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
तर, रास्वपाका एक शीर्ष नेताले भने सुधन गुरुङले प्रत्यक्ष रूपमा भागबन्डाको माग नगरेको दाबी गर्दै, “उहाँनिकट रहेको दाबी गर्ने केही नेताहरूले केन्द्रीय सदस्यमा समेटिनुपर्ने अपेक्षा व्यक्त गरेका हुन्,” भने।


