
धनगढी । कैलालीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

गोदावरी नगरपालिका–५ स्थित मत्स्य पालन केन्द्र नजिक अत्तरिया–धनगढी सडकखण्डमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको र अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००८ प ५९९८ नम्बरको मोटरसाइकल ओभरस्पिडका कारण आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी १८ वर्षीय पर्वत चौधरी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलको पछाडि सवार १७ वर्षीय लक्ष्मण खाती भने दाहिने हात र खुट्टामा चोट लागी उपचाररत छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक पर्वत चौधरी र घाइते लक्ष्मण खाती दुवै जना एसओएस बालग्राम शाखा कार्यालय, तारानगरमा बस्दै आएका थिए । मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

