ओलीको अपिल : संवाद, सहमति र सहकार्यबाट वर्तमान संकट समाधान गर्न आग्रह

cp new add
Nisharg hospital

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका घटनाप्रति दुःख व्यक्त गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यमार्फत मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिनुपर्ने बताएका छन्।

Nast Ad

बिहीबार जारी अपिलमा ओलीले सुनसरीको देवानगञ्ज र सिरहामा गोली लागेर नागरिकको मृत्यु तथा अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

ओलीले नागरिकहरूलाई कुनै पनि भ्रामक प्रचारको पछि नलागी संयमता अपनाउन, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्। जनतालाई विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्ने प्रयास हुन सक्ने भन्दै सचेत रहन पनि उनले आह्वान गरेका छन्।

सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै ओलीले नागरिकको सुरक्षा सुनिश्चित गर्नु, बल प्रयोग रोक्नु र संवादमार्फत समस्याको समाधान खोज्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्। उनले वर्तमान अवस्थामा सरकारले देखाएको मौनता, उदासीनता र अत्यधिक बल प्रयोगप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै हिंसात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेका छन्।

अध्यक्ष ओलीले राजनीतिक दलहरूलाई आपसी प्रतिस्पर्धा र आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्न आह्वान गरेका छन्। उनले द्वन्द्व र हिंसाबाट समस्या समाधान नहुने उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यले मात्र वर्तमान संकटबाट मुलुकलाई निकास दिन सक्ने बताएका छन्।

साथै, राष्ट्रिय हित, शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक र सामाजिक समुदायका अगुवाहरूलाई एकजुट हुन ओलीले आग्रह गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...