
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत लागू गरेको शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाएको छ। अर्थ मन्त्रालयले उक्त निर्णय राजपत्रमा प्रकाशित गर्दै शुल्क छुटको औपचारिक सूचना जारी गरेको हो।

यसअघि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत समता शुल्क हटाउने घोषणा गरेका थिए। अब उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार हालसम्म असुल गरिएको शिक्षा तथा स्वास्थ्य समता शुल्क सम्बन्धित व्यक्तिलाई १५ दिनभित्र फिर्ता गरिनेछ। तोकिएको अवधिभित्र फिर्ता गर्न नसकिएको रकम भने संघीय सञ्चित कोषमा दाखिला गरिने व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत शिक्षा र स्वास्थ्य सेवामा ३/३ प्रतिशत समता शुल्क लगाएको थियो। तर व्यापक आलोचनापछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो।

