
दाङ । दाङको तुलसीपुरमा विद्यालय बस रोकेर कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ ।

तुलसीपुर–६ स्थित ग्रेट अरनिको इङ्लिस सेकेन्डरी स्कुलका अनुसार कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी नयन वलीमाथि बिहीबार अपराह्न अज्ञात समूहले खुकुरी प्रहार गरेको हो ।
विद्यालयका अनुसार बिहानी सत्रको कक्षा सकिएपछि विद्यार्थीलाई घर पुर्याउन जाँदै गरेको रा१ख ४६१ नम्बरको विद्यालय बसलाई विद्यालयको पश्चिमतर्फको सडकमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले रोकेका थिए । त्यसक्रममा उनीहरूले बसभित्रै प्रवेश गरी नयन वलीमाथि खुकुरी प्रहार गरेका थिए।
आक्रमणबाट घाइते भएका वलीको उपचार भइरहेको विद्यालयले जनाएको छ । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्यालय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

