धनगढीमा देवानगन्ज घटनाको विरोध तथा श्रद्धाञ्जली कार्यक्रम

cp new add
Nisharg hospital

धनगढी :  सुनसरीको देवानगन्जमा भएको घटनाको विरोध गर्दै विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेशले शुक्रबार धनगढी उपमहानगरपालिका – १८ फुलवारीस्थित आदर्श चोकमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम गरेको छ।

Nast Ad

सञ्चालन भएको कार्यक्रममा परिषद्का लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेश सचिव धनुशधारी पाण्डेको नेतृत्व लगायतका नागरिकको सहभागिता रहेको थियो । सहभागीहरूले हिन्दु समुदायमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सचिव पाण्डेले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरे। उनले धर्मका नाममा हुने हिंसात्मक घटना दुःखद रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्ध कायम रहनुपर्ने बताए।

उनले सरकारले यस्ता घटनाप्रति गम्भीर ध्यान दिनुपर्ने, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने तथा समाजमा धार्मिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे। साथै, सनातन धर्मावलम्बीहरूले आफ्नो धर्म, संस्कृति र चाडपर्व निर्वाध रूपमा मनाउन पाउनुपर्ने पनि उनको भनाइ थियो। कार्यक्रमका क्रममा सहभागीहरूले विभिन्न नारा लगाएका थिए। उनीहरूले हिन्दु राष्ट्र पुनःस्थापना, धर्मनिरपेक्षता खारेज तथा मुस्लिम आयोग खारेज गर्नुपर्ने लगायतका नारा पनि लगाएका थिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...