
धनगढी । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिट मुद्दामा अदालतबाट सजाय तोकिए पनि फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार उनीहरूलाई पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी बिट बाणीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लामो समयदेखि फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भान बहादुर बिष्ट, मुकेश मल्ल र दल बहादुर बिष्ट रहेका छन्।
जिल्ला अदालत कञ्चनपुरबाट कुटपिट मुद्दामा उनीहरूलाई १ महिना कैद र जनही ३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका लागि पक्राउ परेका तीनै जनालाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी दिएका छन् ।

