
पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ निवासी ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीका अनुसार भट्टविरुद्ध पाँच वटा बैंकिङ कसुर मुद्दा दर्ता रहेका थिए। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा ५ वटा बैंकिङ कसुरको उजुरी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा ५० लाखको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार रहेका थिए ।
त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा १५ लाख, जिल्ला प्रहरी परिसर काठमाडौंमा एक लाख ४८ हजार, प्रहरी वृत्त बालाजुमा २ लाख ५० हजार र प्रहरी वृत्त कालिमाटीमा एक लाख ८० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको उजुरी दर्ता भई उनी फरार भएका थिए ।

