ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

cp new add
Nisharg hospital

तनहुँ – बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ।

Nast Ad

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, एकिकृत कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले दुई दिन अघि देखि नै जिल्लामा अनुगमन सुरु गरेको छ ।

यस क्रममा दमौलीस्थित ग्यास डिलर तथा सप्लायर्सको अनुगमन गरेको हो । बजारमा एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको भन्ने उपभोक्ताको गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश डिलरमा उद्योगबाट नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको पाइए पनि वितरण प्रक्रियामा थप पारदर्शिता आवश्यक रहेको टोलीले जनाएको छ । टोलीले ग्यासको मौज्दात, आयात तथा वितरणसम्बन्धी अभिलेखसमेत परीक्षण गरेको थियो।

अनुगमनपछि सबै डिलर तथा सप्लायर्सलाई ग्यासको आयात, मौज्दात र वितरणको स्पष्ट अभिलेख राख्न तथा उपभोक्तालाई सहज र पारदर्शी रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।

बजारमा कृत्रिम अभाव सिर्जना हुने कुनै पनि गतिविधि सह्य नहुने बताए। उनले उद्योगबाट आपूर्ति भइरहेको ग्यास अनावश्यक रूपमा मौज्दात राख्ने, वितरणमा विभेद गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य भेटिए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिए।

उनले उपभोक्ताको हित संरक्षण गर्नु प्रशासनको प्राथमिकता भएको उल्लेख गर्दै बजारको नियमित अनुगमनलाई निरन्तरता दिइने बताए। ग्यास वितरणमा कुनै समस्या वा अनियमितता देखिए तत्काल प्रशासनमा जानकारी गराउन पनि उनले उपभोक्तालाई आग्रह गरे।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...