
चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव पाकिस्तानस्थित ब्रड पिक हिमालमा बेपत्ता भएको तीन दिनपछि फेला परेको छ।

पाकिस्तानको अल्पाइन क्लब (एसीपी)का अनुसार उनको शव ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा उद्धार टोलीले फेला पारेको हो। हिमपहिरोमा परेपछि बिहीबार बिहान निम्सदाइ र उनको टोलीसँग सम्पर्क विच्छेद भएको थियो।
यसअघि शनिबार अभियान आयोजक कम्पनी एलिट एक्सपेडले निम्सदाइसहित पाकिस्तानी पर्वतारोही सोहेल साखी र अभियानमा सहभागी अन्य सदस्यहरूको मृत्यु भएको घोषणा गरेको थियो।
एसीपीकी नायला कियानीका अनुसार आइतबारसम्म तीन जना पर्वतारोहीको शव उद्धार गरिएको छ भने एक अमेरिकी पर्वतारोहीको भएको विश्वास गरिएको शवका अवशेष पनि फेला परेका छन्।
एसीपीले जारी गरेको विज्ञप्तिमा उद्धार टोली निम्सदाइको शवसम्म पुगेको पुष्टि गर्दै घटनास्थलमा थप तीन शव देखिएको, तर तिनको पहिचान अझै पुष्टि हुन बाँकी रहेको जनाएको छ। ती शवहरूलाई जापानी शिविरसम्म ल्याउने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।
एसीपीले दुर्गम भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच उद्धार कार्य जारी रहेको जनाएको छ। साथै, घटनास्थलबाट प्राप्त विवरण प्रारम्भिक भएकाले आधिकारिक पुष्टि नआउन्जेल अपुष्ट सूचना नफैलाउन पनि आग्रह गरेको छ।

