सरकार ‘छाडा साँढे’ जस्तै भयो : कांग्रेस

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक आचरण विपरीतका गतिविधि बढाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राज्य शक्तिको दुरुपयोग गरी प्रेस र विपक्षीको मुख थुन्ने प्रयास भइरहेको आरोप लगाए । प्रवक्ता चालिसेले प्रेस स्वतन्त्रतालाई राज्यको शक्तिले कुल्चने प्रयास हुनु लोकतन्त्रका लागि खेदजनक भएको बताए ।

Nast Ad

विपक्षी दलका सभापतिको घर अगाडि राज्य र गृह मन्त्रालयको प्रत्यक्ष सहयोगमा गाडीहरू तेर्स्याएर अवरोध सिर्जना गर्नुले सरकारको अधिनायकवादी चरित्र उदाङ्गो पारेको उनको तर्क थियो । ‘विपक्षी दलका सभापतिको घर घेर्नु र प्रश्न सोध्नेहरूको मुख थुन्न खोज्नु हामीलाई कदापि स्वीकार्य छैन,’ चालिसेले भने, ‘के संविधानको सीमा र कानुनको सर्वोच्चता सरकार बाहिर बस्नेहरूका लागि मात्रै लागू हुने हो ? के सरकार भनेको ‘छाडा साँढे’ हो, जसलाई कुनै कानुन लाग्दैन ।’

प्रवक्ता चालिसेले वर्तमान सरकार सुशासनको जगमा बनेको दाबी गरिए पनि व्यवहारमा भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । विशेष गरी राहदानी (पासपोर्ट) खरिद प्रकरणमा पारदर्शिताको चरम अभाव देखिएको र यसमा सरकारको नियत र निर्णयमाथि गम्भीर प्रश्न खडा भएको उनले बताए ।

‘भ्रष्टाचारमा सरकार डुबेका प्रमाणहरू एकपछि अर्को गर्दै बाहिर आइरहेका छन्। सुशासनको नारा दिने सरकारकै पालामा यस्ता घटना हुनु दुःखद हो,’ उनले भने, ‘राहदानी खरिद प्रक्रियामा भएका अपारदर्शी निर्णयहरूले सरकारको नियतमा खोट देखाएको छ, यसको तथ्यपरक छानबिन हुनुपर्छ।

कांग्रेसले सरकारलाई आफ्ना गल्तीहरू सुधार्न र संविधान तथा कानुनको परिधिभित्र रहेर काम गर्न चेतावनी दिएको छ। साथै, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र विपक्षीको सम्मान गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...