
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नगर्ने अडान लिएका छन् ।

ओलीले कार्कीलाई गुण्डु नै बालाएर राजीनामा गर्न दबाव दिएका थिए । मंगलबार साँझ झण्डै एक घण्टा गुण्डुमा भएको छलफलमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने पुरानै अडान राखेका थिए । ‘मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ, राजनीतिक सन्देश पनि राम्रो जाँदैन,’ कार्कीले अडान लिएका थिए । ओलीले भने नयाँ कोर्समा जान बाटो खुला गरिदिन आग्रह गरेका थिए ।
‘दुवै जनाले आ–आफ्नै कुरा राख्ने जस्तो मात्र भयो, थप फेरि बस्ने भनिएको छ,’ स्रोतले भन्यो । आज फेरि बस्ने भनिए पनि समय टुंगो लागेको छैन । कार्कीलाई राजीनामा गर्न र नयाँ मुख्यमन्त्री बनाउने बाटो खुला गरिदिन ओलीले यसअघि पनि गुण्डु बोलाएर निर्देशन दिएका थिए । तर कार्की तयार भएनन् ।
पूर्वमुख्यमन्त्री शेरधन राईलाई यही प्रयोजनका निम्ति विराटनगर पठाइएको थियो । तर राईसँग पनि कार्कीले आफ्नो अडान छोडेनन् । यसपछि विराटनगरमा प्रदेश सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले आफ्नै निवासमा सांसदहरुलाई बोलाएर हस्ताक्षर गर्न दबाव दिइरहेको स्रोतले जनायो । ‘पार्टीको निर्णय मान्नुपर्छ भनेर हस्ताक्षर संकलन गरिरहेको बुझिन्छ,’ स्रोतले भन्यो ।
मुख्यमन्त्री कार्की हटाउने राईको अभियानमा पराजुली प्रमुख सहयोगी बनेका छन् । तर मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५)बमोजिम आफू मुख्यमन्त्री नियुक्त भएकाले राजीनामा दिदा संवैधानिक जटिलता आउने र राजनीतिक सन्देश पनि राम्रो सन्देश नजाने तर्क गरिरहेका छन् ।

