
धनगढी । कैलालीमा मोटरसाइकलसहित खोलामा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ ।

सुुर्खेतबाट आउदै गरेका बर्दगोरिया गाउँपालिका–२ बस्ने ३९ वर्षीय लौटन चौधरीको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
चौधरी घर फर्किने क्रममा गएराति करीब साढे ९ बजेतिर मोहन्याल गाउँपालिका– ७ को पितमारी खोलामा मोटरसाइकलसहित बगेका थिए ।
स्थानीयले बगिरहेको अवस्थामा देखेपछि तत्काल इलाका प्रहरी कार्यालय चिसापानीलाई खबर गरेका थिए । इप्रकाकी इन्चार्ज प्रहरी निरीक्षक(इन्स्पेक्टर) मिरा खड्काको नेतृत्वमा खटिएको टोलीले करीब एक घण्टाको प्रयासपछि उनको सकुशल उद्दार गरेको हो ।
खोलामा अत्यधिक बाढी आएका कारण मोटरसाइकल भने निकाल्न नसकिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका चौधरीलाई राति नै सकुशल घर पठाइएको थियो । इप्रका चिसापानीकी प्रहरी निरीक्षक खड्का कैलालीमा एकल महिला कमान्डरका रुपमा कार्यरत छिन् ।

