
काठमाडौं । खाना पकाउने एलपी ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता तथा डिपोलाई सरकारले कडा कारबाही गर्ने बताएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गरी कालोबजारी गर्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुने बताएको हो ।

पछिल्लो समय उपभोक्ताले सहज ग्यास नपाएको गुनासो बढेको छ । ग्यास विक्रेता तथा डिपोले ग्यास लुकाइछिपाइ आफूनिकट व्यक्ति, होटल र व्यवसायीलाई मात्र उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरिरहेको उजुरी आएपछि विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता जनगुनासो र उजुरीबारे विभाग तथा अधिकारप्राप्त अन्य निकायबाट बजारको निरन्तर अनुगमन भइरहेको सूचनामा उल्लेख छ ।
‘खाना पकाउने एलपी ग्यास जस्तो अत्यावश्यक वस्तु सहज रूपमा तोकिएको मूल्यमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो,’ विभागद्वारा जारी सूचनामा छ, ‘ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री वितरण गर्नु, कृत्रिम अभाव सिर्जना गर्नु, कालोबजारी गर्नु, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्नु कानुन विपरीत भएकाले त्यस्तो कार्य गरेको पाइए सबै ग्यास विक्रेता तथा डिपोलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’
विभागले कानुन विपरीत यस्ता कार्य भएको कतै देखे, थाहा पाए वा आफू ठगिएको महसुस भए उजुरी गर्न उपभोक्तालाई अपिल गरेको छ । यसका लागि नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल फ्रि नम्बर ११३७ मा सम्पर्क गरी जानकारी गराउन सकिने व्यवस्था मिलाइएको छ ।
साथै, बजारमा ७.१ किलोको सट्टा १४.२ किलोको ग्यास वितरण गर्दा केही समय वितरण प्रणालीमा असहजता पैदा भएको विभागले जनाएको छ ।

