सेतीका डा.पाण्डेको केजी हस्पिटलमा गैरकानुनी काम, मृत्यु भएकी महिलाको शल्यक्रियामा संलग्न थिए

cp new add
Nisharg hospital

धनगढी । धनगढीस्थित केजी हस्पिटलमा मृगौलाको पत्थरीको शल्यक्रियापछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीया समानी चौधरीको मृत्यु भएको घटनामा शल्यक्रियामा संलग्न चिकित्सकको निजी अस्पतालमा काम गरेको विषयसमेत विवादमा आएको छ।

Nast Ad

मृगौलामा पत्थरीको समस्या भएपछि चौधरी बिहीबार बिहान केजी हस्पिटलमा भर्ना भएकी थिइन्। चिकित्सकको सल्लाहअनुसार उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको थियो। तर, केही घण्टामै उनको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै क्षतिपूर्ति र संलग्न चिकित्सकमाथि कारबाहीको माग गरेका थिए।

घटनापछि मृतकका आफन्तले शुक्रबार बिहानैदेखि हस्पिटल परिसरबाहिर विरोध प्रदर्शन गरेका थिए। अन्ततः हस्पिटल र मृतकका आफन्तबीच २२ लाख रुपैयाँ लेनदेनमा सहमति भएपछि विवाद टुंगिएको छ र आफन्तले शव बुझेका छन्।

स्रोतका अनुसार हस्पिटलले मृतकका छोरा सुनिल चौधरीलाई शुक्रबार नै दुई लाख रुपैयाँ नगद दिएको छ। बाँकी २० लाख रुपैयाँ भने पाँच–पाँच लाख रुपैयाँका दरले प्रत्येक महिना उपलब्ध गराउने गरी चेक दिइएको छ।

हस्पिटलले मृतकका परिवारलाई रकम दिएर विवाद टुंग्याए पनि चौधरीको शल्यक्रियामा संलग्न चिकित्सकको निजी अस्पतालमा काम गरेको विषय भने गम्भीर कानुनी प्रश्नका रूपमा उठेको छ।

चौधरीको शल्यक्रिया युरोलोजिष्ट डाक्टर अरुण पाण्डेको समूहले गरेको थियो। डा. पाण्डे सेती प्रादेशिक अस्पतालमा नेपाल सरकारको छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सक हुन्। उनी १७ चैत २०८१ देखि छात्रवृत्ति करार सेवामा कार्यरत छन् र उनको करार अवधि आगामी चैत १६ गतेसम्म रहेको छ।

सरकारी छात्रवृत्ति करार सेवामा कार्यरत विशेषज्ञ चिकित्सकले करार अवधिभर निजी स्वास्थ्य संस्थामा चिकित्सकीय सेवा दिन नपाउने व्यवस्था छ। ‘सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ ले यस्तो व्यवस्था गरेको हो।

उक्त कार्यविधिको परिच्छेद ४ को दफा १६ को उपदफा (१) को खण्ड (ज) मा छात्रवृत्ति करार सेवामा रहेका विशेषज्ञ चिकित्सकले सेवा अवधिभर निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नहुने व्यवस्था गरिएको छ। सोही दफाको उपदफा (३) मा उक्त प्रावधान उल्लङ्घन गरेमा चिकित्सकको लाइसेन्स निलम्बन गर्न सकिने व्यवस्था छ।

यही व्यवस्थाका बीच निजी क्षेत्रबाट सञ्चालित केजी हस्पिटलमा मृगौलाको शल्यक्रियामा डा. पाण्डेको संलग्नता देखिएको हो। चौधरीको मृत्यु भएपछि मात्रै उनी छात्रवृत्ति करार सेवामै रहेर निजी हस्पिटलमा समेत काम गरिरहेको तथ्य बाहिर आएको हो।

यसमा अर्को कानुनी प्रश्न पनि उठेको छ। सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने व्यवस्था छ। तर, डा. पाण्डेले बिहीबार दिउँसो करिब १ बजेतिर चौधरीको शल्यक्रिया गरेको बताइएको छ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले छात्रवृत्ति करार सेवामा कार्यरत कुनै पनि चिकित्सकलाई निजी चिकित्सकीय सेवाका लागि अनुमति नदिइएको बताए।

उनका अनुसार छात्रवृत्ति करार सेवामा रहेका केही चिकित्सकले विगतमा निजी स्वास्थ्य संस्थामा काम गर्न पाउँ भन्दै अस्पतालमा निवेदन दिएका थिए। तर, सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को प्रावधानका कारण कसैलाई पनि त्यस्तो स्वीकृति नदिइएको उनले बताए।

स्वीकृतिबिना निजी स्वास्थ्य संस्थामा काम गरेको विषयमा कारबाही गर्ने अधिकार प्रादेशिक अस्पताललाई नभएको उनले बताए। तर, कार्यालय समयमा निजी अस्पतालमा काम गरेको पुष्टि भएमा कारबाही प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा समेत कार्यरत युरोलोजिष्ट डा. अरुण पाण्डेसँग यस विषयमा प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिएको थियो। तर, उनले फोन उठाएनन्।

केजी हस्पिटलका कार्यकारी निर्देशक डाक्टर दीपक सिंहले भने घटनाबारे प्रतिक्रिया दिन अस्वीकार गरे। हस्पिटल सञ्चालक समितिका अध्यक्ष चेतराज जोशीले भने मृतक चौधरीको शल्यक्रिया युरोलोजिष्ट डा. पाण्डेको समूहले नै गरेको पुष्टि गरे।

तर, डा. पाण्डेले कानुनी रूपमा निजी हस्पिटलमा शल्यक्रिया गर्न मिल्ने वा नमिल्ने विषय आफूलाई थाहा नभएको अध्यक्ष जोशीको दाबी छ।

यस विषयमा स्वास्थ्य कार्यालय कैलालीले भने छानबिन आवश्यक रहेको जनाएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकलाई केजी हस्पिटलले काममा लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए।

उनका अनुसार धनगढीका निजी अस्पताललाई छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सकमार्फत काम नगराउन स्वास्थ्य कार्यालयले पटक–पटक निर्देशन दिँदै आएको छ। तर, केजी हस्पिटलले उक्त निर्देशन उल्लङ्घन गर्दै युरोलोजिष्ट डा. अरुण पाण्डेलाई काममा लगाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै हस्पिटलमाथि कारबाही प्रक्रिया अघि बढाइने कुँवरले बताए।

कुँवरका अनुसार छात्रवृत्ति करार सेवामा रहेकै अवस्थामा निजी अस्पतालमा समेत काम गर्ने चिकित्सकको हकमा भने स्वास्थ्य सेवा विभाग र नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अघि बढाउनेछ। स्वास्थ्य कार्यालयले आवश्यक सोधपुछ तथा छानबिन भने गर्न सक्नेछ।

यसरी चौधरीको मृत्युको घटना २२ लाख रुपैयाँको लेनदेनपछि तत्कालका लागि टुंगिए पनि शल्यक्रियामा संलग्न चिकित्सकको निजी अस्पतालमा भएको संलग्नता, कार्यालय समयमै शल्यक्रिया गरिएको भनिएको विषय तथा छात्रवृत्ति करार सेवासम्बन्धी कानुनी व्यवस्थाको उल्लङ्घन भए–नभएको विषय अब छानबिनको दायरामा आएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...