
२४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावलले प्रदेश सरकारले घुस लिने गरेको आरोप खेप्नुपरेको छ ।

पत्रकार ऋषि धमलाले सञ्चालन गरेको चुनाव महासंग्राम कार्यक्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) का प्रत्यक्षतर्फका उम्मेदवार समेत रहेका मन्त्री रावललाई सहभागीले प्रदेशको कृषि मन्त्रालयले भ्रष्टाचार गरेको आरोपबारे जिज्ञाशा राखेपछि उनले त्यसको बचाउ गरेका छन् ।
‘…यो क्षेत्रमा यत्रो बजेट ल्याउदा पनि कुनै ठाउँमा आलोचित हुन परेन । एक पैँसाको भ्रष्टाचार पनि गरेको छैन । पाँच वर्षको कार्यकाल जनताले मूल्याङ्कन गरेका छन्,’ रावलले यति भन्दै गर्दा एक जना सहभागीले उनीमाथि प्रश्न उठाएका छन् ।
‘..कृषि ज्ञान केन्द्रमा १० वटा फारम बुझाउने मै हो । त्यहाँको हाकिमले भनेको छ की मन्त्रालयसँग सेटिङ भइसक्यो । यो फारम बुझाएको काम छैन,’ ती सहभागीले यति भनेपछि रावलले उनलाई सम्झाउदै भनेका छन्, ‘तपाई एउटा कुरा बुझ्नुस भने यो प्रदेशको अर्थमन्त्री हो तर कृषि मन्त्री होइन । ज्ञान केन्द्र कृषि मन्त्रीको मातहतमा हुन्छ ।’ रावलको भनाई नसकिदै फेरी सहभागी प्रश्न गर्छन्, ‘तर के त घुस कुन मन्त्रालयबाट प्रभावित हुन्छ,’
सहभागी यतिमै नरोकिएपछि कार्यक्रम सञ्चालक ऋषि धमलाले उनलाई ‘मित्र रोक्नुस्’ भन्दै रोक्छन् । कुरा बुझ्नुस् भनेर ऋषिले गरेको आग्रहअनुसार नरोकिएर सहभागीले रावलालाई भन्छन्, ‘तपाई अर्थ मन्त्री हो । कृषि राज्यमन्त्री मानबहादुर सुनार आफ्नै क्षेत्रको हुनुहुन्छ ।’
धमलाले धैर्य गर्न आग्रह गरेपनि सहभागीले मन्त्री रावललाई तपाई ठूला कुरा गर्नुहुन्छ । सरकारी अस्पतालमा एउटा सिटामोल पनि पाइदैन् भनेर निरन्तर गुनासो गर्छन् । त्यसपछि कार्यक्रममा सभागी अरु व्यक्तिले पनि मन्त्रीसँग विभिन्न प्रश्न गरेका सार्वजनिक भिडियोमा देखिन्छ ।
सहभागीको होहल्लाकै बीच मन्त्री रावलले प्रदेश सरकारको बचाउ गर्दै राम्रो काम गरेको सुनाएका छन् । ‘…कोराना कालमा प्रदेश सरकारले राम्रो काम गरेको छ । हामीले होल्डीङ सेन्टर निर्माण गरेका छौँ…….।’
धमलाको कार्यक्रममा सहभागीसँग चर्काचर्की परेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

