
धनगढी । कैलालीमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन र ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–७ जेपी चोकस्थित एक कोठाबाट मंगलबार बेलुका १२ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–२ घर भई धनगढी–७ जेपी चोकमा कोठा गरी बस्ने २८ वर्षीय रामलाल डगौरा र धनगढी उपमहानगरपालिका–७ का २३ वर्षीय अनिल चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा रामलाल डगौराको कोठामा शंका लागेर तलासी गरेको थियो। त्यसक्रममा उक्त धुलो पदार्थ फेला परेपछि डगौरा र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट ब्राउनसुगरजस्तो देखिने १ सय मिलिग्राम धुलो पदार्थसहित २० वर्षीया मनिषा चौधरी पक्राउ परेकी छन्।
बर्दगोरिया गाउँपालिका–२ घर भई हाल धनगढी–८ मा कोठा गरी बस्दै आएकी चौधरीलाई प्रहरीले मंगलबार बेलुका शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा उक्त पदार्थ फेला परेपछि उनलाई पक्राउ गरिएको हो। यसरी एकै दिन धनगढीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकामाथि बरामद पदार्थको परीक्षण तथा लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

