धनगढीको केजी हस्पिटलमाथि छानबिन सुरु, डा. पाण्डेसहितको विवरण मागियो

cp new add
Nisharg hospital

धनगढी । धनगढीस्थित केजी हस्पिटलमा मृगौलाको शल्यक्रियापछि कञ्चनपुरकी ५० वर्षीया समानी चौधरीको मृत्यु भएको घटनामा स्वास्थ्य कार्यालय कैलालीले छानबिन थालेको छ।

Nast Ad

प्रेसपत्रले हस्पिटलमा भएको शल्यक्रियामा युरोलोजिष्ट डा। अरुण पाण्डेको गैरकानुनी संलग्नता रहेको विषय सार्वजनिक गरेपछि स्वास्थ्य कार्यालयले हस्पिटलसँग घटनाबारे लिखित स्पष्टीकरण माग्दै छानबिन अघि बढाएको हो।

स्वास्थ्य कार्यालयले सोमबार हस्पिटललाई तीन बुँदे लिखित स्पष्टीकरण सोधेको छ। स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश कुँवरले पठाएको पत्रमा स्वास्थ्य संस्था सञ्चालन मापदण्डअनुसार आकस्मिक शल्यक्रिया सेवा प्रदान गर्न सकिने भए पनि विशेषज्ञ सेवा दिन नमिल्ने उल्लेख गर्दै मृतक चौधरीको हकमा कस्तो प्रकारको शल्यक्रिया गरिएको हो भन्ने विवरणसहित उपचारसँग सम्बन्धित सम्पूर्ण कागजातको छायाप्रति माग गरिएको छ।

त्यस्तै, शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम, शैक्षिक योग्यता, काउन्सिल नम्बर र सम्पर्क नम्बर उपलब्ध गराउन भनिएको छ। शल्यक्रियामा संलग्न डा। अरुण पाण्डेसँग हस्पिटलले गरेको कार्य सम्झौताको प्रतिलिपिसमेत माग गरिएको छ।

स्वास्थ्य कार्यालयका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य विष्टका अनुसार हस्पिटललाई तीनवटै बुँदाको स्पष्टीकरण तीन दिनभित्र पेश गर्न समय दिइएको छ। तोकिएको समयभित्र जवाफ प्राप्त नभए जनस्वास्थ्य ऐन, २०७५ को दफा २७९२० बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

संयोजक विष्टका अनुसार केजी हस्पिटलले लिखित स्पष्टीकरण पेश गरेपछि त्यसको अध्ययन गरी थप कारबाही प्रक्रिया अघि बढाइनेछ।

गत बिहीबार केजी हस्पिटलमा भर्ना भएकी कञ्चनपुरको कृष्णपुरकी ५० वर्षीया समानी चौधरीको मृगौलाको पत्थरीको शल्यक्रियापछि मृत्यु भएको थियो। उनको शल्यक्रियामा सेती प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत डा। अरुण पाण्डे कानुनविपरीत संलग्न भएको विषय सार्वजनिक भएको थियो।

घटनापछि हस्पिटलले मृतकका परिवारलाई २२ लाख रुपैयाँ दिएर घटना सामसुम पारेको आरोपसमेत लागेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...