
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा दुई वटा कम्पनीले आपूर्ति नगरेपछि ग्यासको आशिंका अभाव भएको छ तर ग्यासको हाहाकार भएको कुरा गलत भएको स्थानीय प्रशासनले जनाएको छ ।
बजारमा ग्यास अभाव भएको हल्ला फैलिएपछि सोमबार कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री नेतृत्वको टोली अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजारमा ग्यासको अभाव भएको भन्ने कुरामा सत्यता नभएको तर केही कम्पनीले सिलिन्डर आपूर्ति नगरेका कारण आशिंक ग्यासको अभाव देखिएको उनी बताउँछन् ।
मनकामना र भेरीले विगत एक हप्तादेखि सिलिन्डर बजारमा नपठाएको देखिएको छ । सोही कारण ती दुवै कम्पनीका उपभोक्ताले ग्यास अभावको समस्या भोग्नुपरेको छ ।
अर्कोतिर ग्यास अभाव भएको अपुष्ट हल्ला फैलिएपछि एउटै व्यक्ति, होटल व्यवसायीले आवश्यकता भन्दा बढि सिलिन्डर भण्डारण गर्न जोखिमले ग्यासको अभाव हुनसक्नेतर्फ आपूर्तिकर्ता र बिक्रेतालाई स्थानीय प्रशासनले सचेत गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकरी खत्रीकाअनुसार सोमबार धनगढीमा रहेका ग्यासका डिलर तथा आधिकारिक बिक्रेताकोमा अनुगमन निरीक्षण गरिएको थियो । सो क्रममा उनीहरुलाई उपभोक्तालाई एक भन्दा बढि सिलिन्डर बिक्रि नगर्न, ग्राहकको पहिचान गरेर मात्र सिलिन्डर उपलब्ध गराउन निर्देशन दिइएको छ ।
अहिले रेडियन्ट र शैपाल कम्पनीको ग्यास भने बजारमा अभाव नरहेको उनी बताउँछन् । एउटै व्यक्तिले धेरै ग्यास भण्डारण गर्दा पहुँच नभएका, डेरा गरि बस्ने विद्यार्थी लगायतका व्यक्तिहरु मर्कामा पर्नसक्ने तर्फ समेत सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताएका छन् ।
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरि कालोबजारी गरेको भेटिएमा त्यस्तो व्यक्तिलाई कारवाहीको दायरामा ल्याइने स्थानीय प्रशासनले जनाएको छ ।

