
काठमाण्डौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरोले पुरिँदा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार विद्युत्गृहका कामदार स्थानीय ५५ वर्षीय दीपक बरुवाल पहिरोमा पुरिएर बेपत्ता भएका छन् भने गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्। घाइते विकको प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको र बेपत्ता बरुवालको खोजीका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोली परिचालन गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिएका छन्।
विद्युत गृहका भन्दा माथिल्लो पहाडबाट खसेको सुक्खा पहिरोले विद्युत्गृहका उपकरणमा क्षति पुर्याएको छ भने १४ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाबाट हाल विद्युत् उत्पादन बन्द भएको छ।

