
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिमका विभिन्न जिल्लाका समस्या समाधानका लागि आफ्नो कार्यालयमा जतिबेला आएपनि हुने बताएका छन् । सुदूरपश्चिमबाट निर्वाचित रास्वपाका सांसदहरूसँग मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

सुदूरपश्चिमका समस्या भए पार्टीको माध्यम, सांसद एक्लै वा समूहमा आएर जतिबेला पनि राख्न पाउने र समाधनका उपाय खोज्न तयार रहेको प्रधानमन्त्रीले सांसदहरूलाई बताएका हुन् । भेटमा सहभागी सांसद केपी खनालले भने, ‘सुदूरपश्चिमका समस्या समाधानका लागि पार्टी र सरकार समन्वय गरेर जानुपर्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो । सुदूरपश्चिमका समस्या पार्टीबाट ल्याउँदा पनि हुन्छ, सुदूरपश्चिमका नेता र सांसदहरूलाई समूहिक वा व्यक्तिगत रूपमा आउँदा पनि हुन्छ भन्ने उहाँको कुरा थियो ।’
प्रधानमन्त्री शाहसँग गेटा अस्पताल संचालन, महाकाली करिडोर संचालन, सेती लोकमार्गलगायतका विषयमा छलफल भएको सांसद खनालले बताए । कैलालीको चिसापानीदेखि महेन्द्रनगर गड्डाचौकीसम्म पशु चौपायाका कारण हुने दुर्घटना न्यूनीकरणका उपायबारे पनि छलफल भएको थियो । किसानले मल नपाएको विषयमा पनि छलफल भएको र खाडी मुलुकमा युद्धका कारण विगतमा ढिलाइ भएको र आगामी दिनमा त्यसो नहुने कुरा प्रधानमन्त्रीले बताएका थिए ।
प्रधानमन्त्री शाहको सचिवालयले सांसदहरूसँग भेटघाटका क्रममा सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । उहाँहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना तथा अन्य स्थानीय समस्याबारे जानकारी गराउनुभएको थियो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
भन्सारसम्बन्धी समस्या, आरक्षपीडित, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्री तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि सांसदहरूले प्रधानमन्त्रीसमक्ष कुरा राखेका थिए । प्रधानमन्त्रीसँग भेट्न सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाललगायत रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

