
काठमाडौं । आज देशभर साधारणतया बदली रहने भएको छ। मौसम पूर्वानुमानअनुसार शुक्रबार दिउँसोदेखि रातिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
शुक्रबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ।
सबैभन्दा बढी सतर्कता भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका बासिन्दाले अपनाउनुपर्ने देखिएको छ। यी क्षेत्रका एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। तराईका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा राति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी तथा धेरै भारी वर्षा हुन सक्ने क्षेत्रमा पहिरो, बाढी, डुबान तथा नदी–खोलामा पानीको सतह बढ्न सक्ने जोखिम रहने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।

