
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरबाट प्रहरीले चरेस जस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको नयाँदिल्ली, दिलसात गार्डेन तथा लखिमपुर स्थायी घर भई हाल चैनपुरमा खुद्रा पसल सञ्चालन गर्दै आएका करिब ४५ वर्षीय राजु श्रीवास्तव र सोही पसलमा रहेका करिब ३० वर्षीय सरिफ महेमद रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) केशव सिंह ठगुन्नाको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ९ः३० बजे श्रीवास्तवको पसलमा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको हो। प्रहरीका अनुसार श्रीवास्तवको पसलबाट शुद्ध तौल १६.५० ग्राम र सोही पसलमा रहेका सरिफ महेमदको बाँया हातमा लुकाइछिपाइ राखिएको अवस्थामा थप ०.१८ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद भएको छ।
दुवै जनाको साथबाट बरामद पदार्थको कुल शुद्ध तौल १६.६८ ग्राम रहेको प्रहरीले जनाएको छ। लागुऔषध सहित नियन्त्रणमा लिइएका दुवै जनालाई मेडिकल परीक्षणपछि बिहान करिब ९ः४० बजे जिल्ला प्रहरी कार्यालय बझाङको हिरासत कक्षमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पक्राउ तथा बरामद गरिएको स्थान जिल्ला प्रहरी कार्यालय बझाङबाट करिब एक किलोमिटर पश्चिमतर्फ रहेको प्रहरीले जनाएको छ।

