

२५ कात्तिक, काठमाडौँ । आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदैछ ।
१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मिएका महागुरु फाल्गुनन्दको पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको मग हिम मन्दिरको स्थापना गर्न योगदान छ ।
किरात समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन शिक्षाको प्रादुर्भाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किरात समुदायलाई रूढिवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको भूमिका रहेको मान्निछ, सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
उनको सम्मानमा पाँचथरमा गाउँपालिकाको नाम नै फाल्गुनन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ ।
फाल्गुनन्दको तस्बिर प्रयोग गरेर सरकारले हुलाक टिकट पनि निकालेको छ । नेपालमा मात्र नभई, भुटान र भारतमा रहेका किरात समुदायले आजको दिनलाई विशेष रुपमा लिने गरेका पाईन्छ । फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज प्रदेश–१ मा सार्वजनिक बिदा दिइएको छ । फाल्गुनन्दको निधन २००५ सालमा पाँचथरमा भएको थियो ।

