अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्धसँगै चर्को जरिवाना

cp new add
Nisharg hospital

काठमाण्डौँ । गत जुलाई १९ तारिखमा सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि भएको अस्वभाविक घटनालाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकमाथि कडा कारबाही गरेको छ । विश्वकपको फाइनल खेल स्पेन र अर्जेन्टिनाबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले अर्जेन्टिनालाई १–० गोलले हराउँदै उपाधि जितेको थियो ।

Nast Ad

फाइनल खेलमा स्पेन विजयी भएपछि मैदानमा देखिएको विवाद र हात हालाहालको घटनालाई लिएर फिफाले विभिन्न खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्ध तथा जरिवानाको घोषणा गरेको हो । फिफाले खेलका फुटेजहरूको विस्तृत अध्ययन गरेपछि घटनामा संलग्न अर्जेन्टिनाका मुख्य खेलाडी र प्रशिक्षकलाई निलम्बन गरेको छ ।

फिफाले अर्जेन्टिनाका लिएन्ड्रो पारेडेसमाथि सबैभन्दा कडा कारबाही गरेको छ । तीनवटा आक्रमणको घटनामा दोषी ठहरिएका उनलाई १० खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना गरिएको छ । यसैगरी, अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिना दुईवटा आक्रमणको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि सात खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना तोकिएको छ ।

यसैगरी, अर्जेन्टिनाकै थियागो अल्माडालाई एक खेलको प्रतिबन्ध लगाइएको छ भने उनीमाथि ३० हजार डलर जरिवाना तोकिएको छ । यसैगरी, स्पेनका डानी ओल्मोसँग विवादमा उत्रिएका सहायक प्रशिक्षक रोबर्टो आयलालाई तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना तोकिएको छ । यसैगरी, सोही विवादमा मुछिएका स्पेनका खेलाडी गाभीलाई पनि फिफाले एक खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवानाको सजाय सुनाएको छ ।

त्यो अप्रिय घटनाका कारण अर्जेन्टिनाका खेलाडी र कर्मचारीहरूले कुल २१ खेलको निलम्बन भोग्नुपर्ने परेको समाचारमा जनाइएको छ । खेलाडीमाथिको कारबाही मात्र नभई फिफाले अर्जेन्टिनी फुटबल महासंघलाई पनि तीन लाख २१ हजार डलर जरिवाना गरेको छ । विश्वकपका क्रममा समर्थकहरूले देखाएको भेदभावपूर्ण व्यवहार, सुरक्षा प्रोटोकलको उल्लंघन र इङ्ल्यान्डविरुद्धको सेमिफाइनल खेलमा राजनीतिक नारासहितको ब्यानर प्रदर्शन गरेको भन्दै संघलाई यो कारबाही गरिएको हो ।

इङ्ग्ल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाका खेलाडीले फकल्यान्ड टापुसम्बन्धी राजनीतिक ब्यानर प्रदर्शन गरेका थिए । यो टापु लामो समयदेखि अर्जेन्टिना र बेलायतबीच विवादको विषय रहँदै आएको छ । भेदभावपूर्ण व्यवहारको घटनालाई गम्भीरतापूर्वक लिँदै फिफाले अर्जेन्टिनालाई आफ्ना आगामी दुई घरेलु खेलमा ५० प्रतिशत मात्र दर्शक राखेर खेल्न निर्देशन पनि दिएको छ । यद्यपि, दोस्रो खेलका लागि तोकिएको प्रतिबन्धलाई भने परीक्षण अवधिमा राखिएको छ । फिफाले जरिवाना रकमको एक हिस्सा भेदभाव विरोधी अभियानमा खर्च गर्न समेत निर्देशन दिएको छ ।

स्पेनविरुद्धको फाइनल खेलमा अतिरिक्त समयमा गोल खाएपछि अर्जेन्टिनी खेलाडीहरू मानसिक रूपमा केही विचलित देखिएका थिए । खेलपछि मैदानमा दुवै टोलीका खेलाडीहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । घटनाकै क्रममा पारेडेसलाई रातो कार्ड देखाइएको थियो । मोलिनालाई भने त्यो घटनाको भिडियो फुटेजका आधारमा फिफाको अनुशासन समितिले कारबाहीको दायरामा ल्याएको हो ।

फिफाले सम्बन्धित पक्षलाई स्पष्टीकरणको मौका दिएपछि यो निर्णय गरिएको बताएको छ । खेल सकिएपछिको यो दृश्यले स्पेनको विश्वकप जितको खुसियालीलाई समेत ओझेलमा पारेको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...