७३ थान चौरीका पुच्छरसहित एक जना पक्राउ

cp new add
Nisharg hospital

संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा भन्सार छलेर ल्याइएको अवैध चौरीको पुच्छरसहित एक जना पक्राउ परेका छन् ।

Nast Ad

भन्सार छलेर अवैध रूपमा ल्याइएको ७३ थान चौरीको पुच्छरसहित ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । भोटखोला गाउँपालिका–३ बाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको यात्रुबाहक बसबाट सामान अनलोड गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अवैध चौरीको पुच्छर फेला पारेको थियो ।

त्यसपछि ती पुच्छर ल्याउने खाँदबारी नगरपालिका–३ का करिब २६ वर्षीय लावाङ भोटेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीले बताए ।

उनले किमाथाङ्का नाकाबाट अवैध रूपमा भन्सार छलेर ती चौरीका पुच्छर ल्याएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध ७३ थान चौरीको पुच्छर र नियन्त्रणमा लिइएका भोटेलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय किमाथाङ्का बुझाइएको डीएसपी मैनालीले जानकारी दिए ।

किमाथाङ्का नाकाबाट प्रहरी वैशाखमा १४३ थान र जेठमा ३६८ थान अवैध चौरीको पुच्छर बरामद गरेको थियो । जिल्ला प्रशासन कार्यालय संखुवासभाले किमाथाङ्का नाकामा क्वारेन्टिन नभएका कारण दुई वर्षदेखि चौरीको पुच्छर आयातमा रोक लगाएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...