
भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको एनआईसीयूमा सोमबार बिहान करिब ३:३० बजे आगलागी हुँदा तीन जना नवजात शिशुको मृत्यु भएको छ।

घटना अस्पतालको तेस्रो तलामा भएको हो, जहाँ आगलागीपछि तीव्र रूपमा धुवाँ फैलिएको थियो। आगलागी हुँदा एनआईसीयूमा ३९ जना नवजात शिशु भर्ना रहेका थिए। आगलागी हुनासाथ चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीहरूले उद्धार कार्य सुरु गरी धेरै बालबालिकालाई सुरक्षित बाहिर निकालेका थिए।
अमरावतीका प्रहरी आयुक्त राकेश ओलाका अनुसार एनआईसीयूका तीनवटा कम्पार्टमेन्टमध्ये एउटामा ९ जना नवजात शिशु भर्ना थिए। आगोको चपेटामा परेर तीमध्ये ३ जनाको मृत्यु भएको छ भने बाँकी ६ जनालाई उपचारका लागि अन्यत्र सारिएको छ। अन्यत्र सारिएका ती ६ जना शिशुको हालको स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी रहेको छ।
प्रारम्भिक अनुसन्धानमा एनआईसीयूमा राखिएको भेन्टिलेटरभित्र विस्फोट भएपछि आगलागी भएको आशङ्का प्रहरीले गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

