
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जनालाई करार सेवामा नियुक्त गर्न अनलाइन दरखास्त आह्वान गरेको छ। बैंकले रक्षक, सिपाही, हलुका तथा बस चालक, डिस्पेन्सरी र कार्यालय सहयोगी पदमा दरखास्त मागेको हो। बैंकका अनुसार भदौ ९ गतेदेखि भदौ २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ। सबै पदका लागि दरखास्त दिने अन्तिम मितिमा उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

बैंकले रक्षक पदमा एक जना माग गरेको छ। यसका लागि एसईई वा सो सरह उत्तीर्ण तथा कुनै कसुर नलागी नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त जमदार, सुवेदार वा सो सरहको अनुभव भएको हुनुपर्नेछ। त्यस्तै, सिपाही पदमा चार जना माग गरिएको छ। यसका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण तथा नेपाली सेनाबाट कुनै कसुर नलागी निवृत्तिभरण प्राप्त हुद्दा, अमलदार, प्यूठ, सिपाही वा सो सरहको अनुभव आवश्यक छ।
हलुका सवारी चालकमा सात जना र बस चालकमा तीन जना माग गरिएको छ। चालक पदका लागि कक्षा ८ उत्तीर्ण हुनुका साथै सम्बन्धित क्षेत्रमा सात वर्षको कार्यअनुभव र आवश्यक सवारी चालक अनुमतिपत्र हुनुपर्नेछ। डिस्पेन्सरी पदमा दुई जना माग गरिएको छ। यसका लागि स्टाफ नर्स वा डिप्लोमा फार्मेसी उत्तीर्ण गरी पदसँग सम्बन्धित संगठित संस्थामा कम्तीमा पाँच वर्षको कार्यअनुभव आवश्यक पर्नेछ।
सबैभन्दा धेरै कार्यालय सहयोगी पदमा १७ जना माग गरिएको छ। यसका लागि कक्षा ८ उत्तीर्ण तथा नेपाल सरकारका निकाय, नेपाल राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्थामा कार्यालय सहयोगीका रूपमा काम गरी निवृत्तिभरण पाउने गरी अवकाश पाएको हुनुपर्नेछ। राष्ट्र बैंकले छनोट हुने कर्मचारीसँग छ महिनाका लागि करार सम्झौता गर्ने जनाएको छ। आवश्यकता अनुसार उनीहरूलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा प्रदेशस्थित कार्यालयमा खटाउन सकिनेछ।
रक्षक, सिपाही तथा चालक पदका लागि लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिनेछ। तर स्वीकृत उम्मेदवारको संख्या २० वा सोभन्दा कम भए प्रयोगात्मक परीक्षा र अन्तर्वार्तामात्र हुनेछ। डिस्पेन्सरी र कार्यालय सहयोगी पदका लागि लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिनेछ। स्वीकृत उम्मेदवारको संख्या २० वा सोभन्दा कम भए अन्तर्वार्तामात्र सञ्चालन गरिनेछ।
दरखास्त दस्तुर ८ सय रुपैयाँ तोकिएको छ। दस्तुर अनलाइन आवेदन पोर्टलमा उपलब्ध भुक्तानी सेवा प्रदायकमार्फत बुझाउन सकिनेछ।
इच्छुक उम्मेदवारले राष्ट्र बैंकको वेबसाइटको ‘करियर’ खण्डमा रहेको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। सबै पदको परीक्षा काठमाडौंमा सञ्चालन हुने बैंकले जनाएको छ।

