
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले मुस्ताङ भ्रमणमा देखाएको सरलता संसद्मा देखाए राम्रो हुने बताएका छन् ।

प्रधानमन्त्री शाहले मुस्ताङ भ्रमणमा जाँदा दुई–चार गाडी नलगेर, तामझाम नगरेर सरलता देखाएको टिप्पणी गर्दै सांसद केसीले त्यही सरलता संसद्मा देखाउन आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीजी मुस्ताङ जानुभयो । त्यसभित्र के कस्ता किसिमका राजनीतिक या धार्मिक, गैरराजनीतिक परिवेशमा छ, म त्यतातिर प्रवेश गर्न चाहन्न,’ केसीले भने, ‘तर, जुन साधारण ढंगले उहाँ जानुभयो नि, म त्यसलाई प्रशंसा गर्न चाहन्छु ।’
त्यही सरलता संसद्मा देखाउन प्रधानमन्त्री शाहसँग उनले आग्रह गरे । ‘कमसे कम दुई–चार वटा मोटर नलिई, कुनै तामझाम नगरी जुन जानुभयो, त्यो सरलता सबैभन्दा ठूलो गुण हो । त्यत्रो ठूलो सरलता देखाउने प्रधानमन्त्रीले त्यो सरलता र सादगी संसदमा आएर देखाए कति राम्रो हुन्थ्यो,’ उनले भने ।
संसद् प्रधानमन्त्रीको निर्माता, निर्देशक र नियन्त्रण गर्ने शक्ति रहेको बताउँदै केसीले त्यसको सम्मान गर्न आग्रह गरे ।
‘संसद्लाई प्रधानमन्त्री बालेनले सादगीपूर्ण रूपमा लिएको भए परिस्थिति धेरै फरक हुन्थ्यो,’ उनले भने ।
तर, सरकारले असल काम गर्दा पनि छाँटकाँट राम्रो नभएको उनले टिप्पणी गरे । ‘त्यसलाई विधि, प्रक्रिया, पद्धति पुर्याएर गरोस् । यत्रो ठूलो बहुमत ल्याएर बनेको सरकार छ । हामी यसको स्थिरताको पक्षमा छौं,’ उनले भने ।
रास्वपाभित्र विवाद हुन नहुने बताउँदै उनले पाँच वर्ष सरकारले चल्नुपर्ने र कांग्रेस धैर्यतापूर्वक प्रतीक्षा गर्ने उनले बताए ।
‘हामी पाँच वर्षपछि मात्रै यहाँहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छौं,’ उनले भने, ‘तर, उहाँहरूले छाँटकाँट राम्रो भएन, प्रक्रिया र पद्धति राम्रोसँग पूरा गर्नुभएन, ब्रेक नभएको गाडी चढेर जता पनि लाग्नुभो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।’

