
काठमाडौं । अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि आर्थिक प्रतिबन्ध थप कडा गर्ने घोषणा गरेपछि चीनले आफ्ना राष्ट्रिय हित र अधिकारको रक्षा गर्न ‘सबै आवश्यक कदम’ चाल्ने चेतावनी दिएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नामको नयाँ प्रतिबन्ध घोषणा गरेका थिए । उक्त घोषणापछि बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको कडा विरोध गरेका हुन् ।
प्रवक्ता लिन जियानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्वीकृतिबिना र अन्तर्राष्ट्रिय कानुनविपरीत लगाइने एकपक्षीय प्रतिबन्धहरू गैरकानुनी भएको बताएका छन् । चीन र इरानबीचको व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानुनको ढाँचाभित्र रहेको दाबी गर्दै उनले यस्तो सहकार्यमा कुनै पनि पक्षले हस्तक्षेप वा अवरोध गर्न नहुने चीनको धारणा स्पष्ट पारे ।
लिनले आर्थिक युद्ध र अत्यधिक दबाबको नीतिले समस्याको समाधान नगर्ने बरु विश्वव्यापी आर्थिक तथा वित्तीय व्यवस्थामा थप अस्थिरता ल्याउने र अन्तर्राष्ट्रिय तनाव बढाउने बताएका छन् ।
अमेरिकाले इरानबाट इन्धन खरिद गर्ने वा इरानसँग वित्तीय कारोबार गर्ने जुनसुकै देश वा संस्थालाई अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने चेतावनी दिएको छ । इरानी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता चीन भएकाले नयाँ अमेरिकी प्रतिबन्धबाट दुई देशबीचको आर्थिक तथा कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको बीबीसीले जनाएको छ ।
इरानका अर्थमन्त्री अली मदानीजादेले पनि अमेरिकी प्रतिबन्धको सामना गर्न इरान तयार रहेको र सरकारले दुई वर्षका लागि रणनीति तयार गरेको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी महिना हुने तय भएको शिखर वार्ताअघि अमेरिकी प्रतिबन्धको घोषणा भएको हो ।
विश्लेषकहरूका अनुसार अमेरिकाले प्रतिबन्ध थप कडा बनाउँदै गएमा चीनले दूर्लभ खनिजको निर्यातमा कडाइ गरेर जवाफी कदम चाल्न सक्ने जोखिम रहेको छ । बीबीसी

