
काठमाडौं । रसुवामा आएको बाढीका कारण कैलाश मानसरोवर यात्रामा निस्किएका ५० जना पर्यटक सम्पर्कविहीन भएका छन् ।

कैलाश मानसरोवर जाने क्रममा रसुवा बोर्डर पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएको बताइएको छ । काठमाडौंस्थित हिमालयन ग्लेसियरबाट मंगलबार उनीहरू यात्रामा निस्किएका थिए ।
हिमालयन ग्लेसियरका सञ्चालक सागर पाण्डेका अनुसार बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन ।
सम्पर्कविहीन हुनेमा ४० जना भारतीय मूलका अमेरिकी तथा क्यानडियन नागरिक रहेका छन् । त्यस्तै, १० जना नेपाली पर्यटक रहेको जनाइएको छ ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा सडक तथा सम्पर्क सञ्जाल प्रभावित भएपछि उनीहरूको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन नसकेको हो । उनीहरूको खोजी तथा अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

