रसुवा बाढीको चौथो दिनसम्म बझाङका जोशीसहित त्रिशूली जलविद्युत आयोजनाका कर्मचारीको अवस्था अज्ञात, खोजीका लागि अपिल

cp new add
Nisharg hospital

धनगढी । रसुवामा बाढी गएको चार दिन बित्दा समेत बझाङका हेमन्तराज जोशीसहित त्रिशूली जलविद्युत आयोजनामा कार्यरत कर्मचारीको अवस्था अज्ञात रहेको छ ।

विपद्को चौथो दिन बितिसक्दा पनि निर्माणाधीन त्रिशूली–३बी जलविद्युत आयोजनामा रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट तथा आधिकारिक जानकारी सार्वजनिक नभएपछि आफन्तहरू थप चिन्तित भएका छन् । विपद्पछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन भएको विवरण सार्वजनिक भइरहेका छन् । तर त्रिशूली–३बीमा रहेका व्यक्तिहरूको अवस्था, उनीहरूसम्म उद्धार टोली पुगे, नपुगेको तथा उद्धारको प्रगति कस्तो छ रु भन्नेबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी नआएको परिवारजनको गुनासो रहेको छ ।

सोही ३ बी साइटमा कार्यरत बझाङका ३२ वर्षीय हेमन्तराज जोशीका परिवारले चार दिनदेखि सम्पर्कविहीन रहेको भन्दै उनको खोजी तथा उद्धारका लागि अपिल गरेको छ । जयपृथ्वी नगरपालिका–८ स्थायी घर भएका जोशी हाल चन्द्रागिरी नगरपालिका–१० मा बस्दै आएका थिए । उनी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमार्फत निर्माणाधीन त्रिशूली–३बी जलविद्युत आयोजनामा कार्यरत रहेको परिवारले जनाएको छ ।
विपद्पछि हेमन्तराज परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवारमा चिन्ता र पीडा बढ्दै गएको छ ।

परिवारका सदस्य सावित्री जोशी र रमा जोशीले चार दिन बितिसक्दा पनि उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी नपाएको बताएका छन् ।
‘चार दिन भइसक्यो, हाम्रो मान्छे कहाँ छन्, कस्तो अवस्थामा छन् भन्ने केही थाहा छैन,’ परिवारजनले भनेका छन्, ‘अब हामीलाई आश्वासन मात्र होइन, वास्तविक र स्पष्ट सूचना चाहिएको छ ।’ परिवारले ३बी क्षेत्रमा अवस्था जटिल रहेको भन्दै उद्धार कार्यमा ढिलाइ गर्न नहुने जनाएको छ ।
‘अवस्था जटिल छ भनेर उम्किन मिल्दैन,’ परिवारको भनाइ छ, ‘जहाँबाट सम्भव हुन्छ, सबै स्रोतसाधन परिचालन गरेर हाम्रा मान्छेको खोजी तथा उद्धार गर्नुपर्छ।’
परिवारले हेमन्तराज मात्र नभई ३बी क्षेत्रमा रहेका अन्य सम्पर्कविहीन व्यक्तिको अवस्थासमेत तत्काल सार्वजनिक गर्न माग गरेको छ ।
आफ्ना आफन्तको खोजीमा रहेका परिवारलाई अनिश्चितता र अपुष्ट सूचनाको भरमा बस्न बाध्य नबनाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
त्रिशूली क्षेत्रका अन्य स्थानमा उद्धार तथा राहतका गतिविधि भइरहेका समाचार सार्वजनिक भइरहेका बेला ३बीमा रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी नआउनुले पीडित परिवारको बेचैनी थप बढाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...