बैतडीमा १८ परिवार पहिरोको उच्च जोखिममा

cp new add
Nisharg hospital

बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–१ रामलामा जमिनमा चिरा परेपछि १८ घरपरिवार जोखिममा परेका छन्। बस्तीमाथिबाट पहिरो आएको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेर निरीक्षण गर्दा तत्काल पहिरोले घर तथा बस्तीमा क्षति नपुर्‍याएको तर जमिनमा दरार देखिएकाले घरहरू जोखिममा रहेको पाइएको हो।

आइतबार दिउँसो करिब ३ बजे बस्तीमाथिबाट पहिरो आएको सूचना प्रहरीलाई प्राप्त भएको थियो। साँझ करिब ६ः३० बजे जानकारी पाएलगत्तै प्रहरी चौकी सिमारबाट प्रहरी सहायक निरीक्षक मदनसिंह धामीको कमाण्डमा चारजनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी सिमारबाट करिब २२ किलोमिटर उत्तरतर्फ पैदल दूरीमा पर्छ। टोलीले स्थलगत निरीक्षण गर्दा मानवीय तथा चौपायाको क्षति नभएको र बस्तीमा प्रत्यक्ष पहिरो नगएको पुष्टि गरेको छ। तर जमिनमा चिरा परेकाले आसपासका घरहरू जोखिममा रहेको पाइएको प्रहरीले जनाएको छ।

जोखिममा परेका घरपरिवारमा गोरेदत्त भट्टको परिवारका ९ जना, कृष्णदत्त भट्टका ६ जना, महावीर धामीका ६ जना, दुरा धामीका ५ जना, जसिदत्त भट्टका ७ जना, मनिदरा भट्टका ७ जना, बक्ष्मण जागरीका ५ जना, प्रताप जागरीका ११ जना, अकबर जागरीका ५ जना, नवराज भट्टका १५ जना, धौले खत्रीका ११ जना, कमल खत्रीका ४ जना, जसे खत्रीका ३ जना, कैले खत्रीका ९ जना, प्रकाश धामीका ४ जना, धनबहादुर खत्रीका ५ जना, ईश्वरदत्त भट्टका ७ जना र धर्मराज भट्टका ५ जना रहेका छन्।

प्रहरीको विवरणअनुसार ती १८ घरपरिवारमा कुल १२४ जना रहेका छन्। जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।

प्रहरीले घटनास्थलको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराएको छ भने जोखिममा रहेका घरपरिवारको अवस्थाबारे थप निगरानी भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...