
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बीपी स्मृति दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान हुनुपर्ने बताए।
भदौ २४ गते भएको सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनाको तोडफोड तथा आगजनीबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ। उनले आफ्नो घरसमेत जलेको स्मरण गर्दै व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते युवाको पीडा ठूलो रहेको बताए। ‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ थापाले भने।
सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अनुसन्धान कहाँ पुगेको भन्दै प्रश्न गरे। साथै, भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरे।
थापाले भदौ २३ गते दमन गर्ने, हिंसा भड्काउने र भदौ २४ गते अपराधमा संलग्न सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताए। त्यसपछि मात्रै राज्य जवाफदेही बन्ने उनको भनाइ छ।

